हेटौँडा उपमहानगरपालिका–२ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउने भएको छ । पौष २४ गतेदेखि सुरु भएका कार्यक्रमहरू माघ ८ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत विद्यालयले ५० औँ स्वर्ण महोत्सवको तयारीबारे जानकारी दिएको हो ।
-------------- बिज्ञापन ---------------
कार्यक्रम अन्तर्गत पौष २४ र २५ गते आँखा जाँच शिविर सम्पन्न भइसकेको छ भने पौष २८ गते विद्यार्थी लक्षित दन्त शिविर आयोजना गरिएको थियो । यस्तै माघ २ गते विद्यालय परिसर सरसफाइ, माघ ३ गते बिहान रक्तदान कार्यक्रम तथा शैक्षिक सामग्री प्रदर्शनी आयोजना गरिने विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले जानकारी दिए ।
स्वर्ण महोत्सवको मुख्य कार्यक्रम माघ ४ गते आयोजना हुने छ । उक्त दिन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले महोत्सवको उद्घाटन गर्ने कार्यतालिका रहेको छ । उद्घाटनअघि झाँकीसहित ¥याली निकालिनेछ । सोही दिन स्वर्ण स्तम्भ अनावरण, स्मारिका लोकार्पण तथा सम्मान कार्यक्रमसमेत गरिने विद्यालयले जनाएको छ ।
माघ ५ गते पूर्व विद्यार्थी भेला तथा विविध अतिरिक्त कार्यक्रम सञ्चालन हुनेछन् । माघ ६ गते नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ । माघ ७ गते वृहत् सांस्कृतिक कार्यक्रमसहित शैक्षिक तथा खेलकुद पुरस्कार वितरण गरिनेछ भने माघ ८ गते हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम आयोजना गरिनेछ । सो अवसरमा सम्मान तथा पुरस्कार वितरणलगायत कार्यक्रम हुने बताइएको छ ।
स्वर्ण जयन्तीपछिको दशकलाई प्रविधिमैत्री शिक्षाको दशकका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ । हाल बिद्यालयमा २ हजार ३ सय ७१ जना विद्यार्थी अध्ययनरत छन्।