संघीय सरकारअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्मित अत्याधुनिक पानी परीक्षण प्रयोगशाला हेटौंडामा सञ्चालनमा आएको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसरभित्र निर्माण गरिएको प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै मेयर लामाले सुरक्षित र गुणस्तरीय खानेपानी नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै प्रयोगशालाले पानीको गुणस्तर सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
-------------- बिज्ञापन ---------------
बोर्डका अध्यक्ष प्रताप विष्टले बोर्डका ग्राहकका लागि पानी परीक्षण सेवा निःशुल्क प्रदान गरिने र अन्य सेवाग्राहीका लागि तोकिएको शुल्क लिएर परीक्षण गरिने व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रयोगशालाबाट पानीको भौतिक, रासायनिक तथा जैविक परीक्षण गरी सुरक्षित खानेपानी सुनिश्चित गर्न सहयोग पुग्नेछ।
कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ का प्रमुख रविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।