बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकको शान्ति सुरक्षा सुनिश्चित गर्नु प्रदेश सरकारको प्राथमिकता र दायित्व भएको बताउनु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडालाई आज मोटरसाइकल हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशको सुरक्षा व्यवस्थालाई थप बलियो बनाउँदै नागरिकलाई पूर्ण रूपमा भयरहित वातावरणको प्रत्याभूति दिन सरकार कटिबद्ध रहेको बताउनुभएको हो।
-------------- बिज्ञापन ---------------
उहाँले शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रदेश सरकारले प्रहरीलाई आवश्यक पर्ने साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री बानियाँले सवारी साधनको अपर्याप्तताका कारण प्रहरीको सेवा प्रवाह र परिचालनमा कठिनाइ भइरहेकोले मोटरसाइकल उपलब्ध गराइएको बताउनुभयो।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई ९७ लाख २० हजार मूल्य बराबरका ३० थान मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलगायतको उपस्थिति थियो ।