फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गरिरहेको छ । आयोगका अनुसार आज बेलुकी ५ बजेसम्म उजुरीमाथि निर्णय गरिनेछ ।
-------------- बिज्ञापन ---------------
निर्वाचन आयोगको कार्यसूचीअनुसार आजै बेलुकी ५ बजेदेखि ७ बजेसम्म योग्य ठहर भएका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । यस्तै, भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ । भोलि नै दिउँसो ४ बजेदेखि बेलुकी ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यतालिका रहेको छ ।
आयोगका अनुसार मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी परेको छ । उजुरी पर्ने उम्मेदवारहरूमा रौतहटबाट उम्मेदवारी दिनुभएका नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रेशमलाल चौधरी, रास्वपाबाट भक्तपुर–२ का उम्मेदवार राजीव खत्री, भक्तपुर–२ बाट नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक तथा रास्वपाबाट सुनसरी–२ का उम्मेदवार लालविक्रम थापा रहेका छन् ।
आयोगले हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी सङ्कलन गरेको थियो ।