राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुँदैछ। निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
-------------- बिज्ञापन ---------------
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी १७ पदका लागि आज मतदान हुन लागेको हो। कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
बाँकी पदका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।
कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ (धनुषा) र बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौंडा उपमहानगरपालिका–४ (मकवानपुर) मा मतदान केन्द्र निर्धारण गरिएको छ।
त्यसैगरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान केन्द्र भएको प्रवक्ता भट्टराईले जानकारी दिए।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ।