हेटौंडा–५, मा रहेकाे श्री बालज्योति माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती)को अवसरमा माघ १९ गतेदेखि २८ गतेसम्म विविध शैक्षिक, सामाजिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू आयोजना गरिरहेको छ।
-------------- बिज्ञापन ---------------
स्वर्ण जयन्ती समारोह अन्तर्गत आज दोस्रो दिन विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सहभागितामा साइकल र्याली सम्पन्न भएको छ। विद्यालय प्राङ्गणबाट सुरु भएको र्याली क्याम्पा स्टेडियमसम्म पुगेर औपचारिक कार्यक्रम गरि सम्पन्न भएको हो । र्यालीले स्वर्ण जयन्ती समारोहप्रति समुदायमा सचेतना फैलाउने उद्देश्य राखेको विद्यालयले जनाएको छ।
स्वर्ण जयन्तीको औपचारिक शुभारम्भ भने माघ १९ गते सांस्कृतिक झाँकीसहितको प्रभातफेरी गरि पिप्ले रङ्गशालामा उद्घाटन समारोह गरि भएको थियो। आयोजकका अनुसार माघ २१ गते सार्वजनिक स्थल सरसफाइ कार्यक्रम तथा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता हुनेछ।
माघ २३ र २५ गते विद्यालय प्राङ्गणमा विविध खेलकुद कार्यक्रम तथा शिक्षक भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । त्यस्तै माघ २४ गते विद्यालय सभा हलमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ। माघ २६ गते पूर्व विद्यार्थी खेलकुद कार्यक्रम अन्तर्गत पुरुषतर्फ घैँटो फुटाई तथा महिलातर्फ म्युजिकल चेयर प्रतियोगिता सञ्चालन गरिनेछ भने सोही दिन पुरस्कार वितरण कार्यक्रम हुने आयोजकले जानकारी दिए।
माघ २७ गते स्वर्ण जयन्ती तयारी, अभिभावक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमसँगै अभिभावक खेलकुद कार्यक्रम आयोजना हुनेछ। स्वर्ण जयन्ती समारोहको समापन भने माघ २८ गते विद्यालय प्राङ्गणमा हुने विद्यालय अतिरिक्त संयोजक तथा कार्यक्रम संयोजक अमित क्षेत्रीले जानकारी दिए। क्षेत्रीले माघ १९ गतेदेखि २८ गतेसम्म स्वर्ण जयन्तीका अवसरमा विविध कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए। उनका अनुसार कार्यक्रममा विद्यार्थी, पूर्व विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
स्वर्ण जयन्ती समारोह अन्तर्गत आज भएको साइकल र्यालीका सभाध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन्द्रनाथ पोखरेल तथा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा थिए। कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, निवर्तमान नगर प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिबहादुर महत, वडा नम्बर ५ का वडा अध्यक्ष सुशील घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको उपस्थिति थियो ।