हेटौँडा – हेटौँडा उपमहानगरपालिका–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी माध्यमिक विद्यालयले आफ्नो ३३ औँ अभिभावक दिवस एवं विज्ञान प्रदर्शनीको अवसरमा पत्रकार राममणि दाहाललाई ‘सोलिड्यारिटी शैक्षिक पत्रकारिता सम्मान २०८२’ प्रदान गरेको छ।
-------------- बिज्ञापन ---------------
शुक्रबार आयोजित विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष तथा गोरखापत्रका बागमती प्रदेश संयोजकसमेत रहेका दाहाललाई सञ्चार क्षेत्रमार्फत मकवानपुर जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत सम्मान गरिएको हो। हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटाले उहाँलाई सम्मानपत्र तथा कदरपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै निमित्त प्रमुख सापकोटाले सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी मकवानपुर जिल्लाकै गौरवको शैक्षिक संस्था भएको उल्लेख गर्दै सुशासन र शैक्षिक गुणस्तरका सूचकहरूमा विद्यालयले उत्कृष्ट उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले विद्यार्थीलाई व्यवहारिक शिक्षा र सामाजिक चेतनासँग जोडेर शिक्षण सिकाइ प्रक्रिया अघि बढाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
- प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले विद्यार्थीहरूमा प्रविधिको दुरुपयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रण घरपरिवारबाटै सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले केही विकसित देशहरूले समेत डिजिटल माध्यमबाट हुने शिक्षामा नियन्त्रणको नीति अवलम्बन गरिरहेको उल्लेख गर्दै सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीलाई जिल्लाको महत्वपूर्ण शैक्षिक धरोहरको रूपमा व्याख्या गर्नुभयो।
विद्यालयकी प्राचार्य रिना आचार्यले यस वर्ष अभिभावक दिवसलाई फरक ढङ्गले तीन चरणमा आयोजना गरिएको जानकारी दिँदै कार्यक्रमलाई नाचगानमा मात्र सीमित नराखी विद्यार्थी र अभिभावक दुवैका लागि उपयोगी, सन्देशमूलक र शैक्षिक कार्यक्रमहरूलाई प्राथमिकता दिइएको बताउनुभयो। उहाँले विद्यालयले गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर निरन्तर काम गर्दै आएको समेत उल्लेख गर्नुभयो।
सोही अवसरमा ‘वर्ष शिक्षक सम्मान २०८२’ बाट मायादेवी छत्कुली तथा ‘वर्ष विद्यार्थी सम्मान २०८२’ बाट रियन ठाकुरलाई सम्मान गरिएको थियो। साथै, कक्षा ६ देखि १० सम्म दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई कुल चार लाख ५० हजार रुपैयाँ बराबरको प्रोत्साहन पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याव्सन मकवानपुरका पूर्व अध्यक्ष मदन दाहाल, सम्मानित पत्रकार राममणि दाहाल, निम्न माध्यमिक तह संयोजक तृष्णा वज्राचार्यलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।