ट्वान्टी–२० विश्वकप अन्तर्गत आइतबार भएको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । मुम्बईस्थित वानखडे रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल ऐतिहासिक जितको निकै नजिक पुगेर अन्तिम समयमा चुक्न पुगेको हो ।
-------------- बिज्ञापन ---------------
इंग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्र बनाउन सक्यो । नेपालका लागि लोकेशले उत्कृष्ट प्रदर्शन गर्दै २० बलमा ३९ रन बनाए । उनले आफ्नो इनिङ्समा ४ चौका र २ छक्का प्रहार गरे ।
खेलको अन्तिम ओभरसम्म रोमाञ्चक बनेको प्रतिस्पर्धामा नेपाललाई जितका लागि अन्तिम दुई बलमा बाउन्ड्री आवश्यक थियो । तर लोकेशले अन्तिम दुई बलमा बाउन्ड्री प्रहार गर्न नसक्दा नेपाल टेस्ट राष्ट्र इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जितबाट ४ रनले पछि रहन पुग्यो ।
मुम्बईको वानखडे रंगशालामा उपस्थित करिब १७ हजार दर्शकमध्ये अधिकांश नेपाली समर्थक रहेका थिए । नेपाली समर्थकको उल्लेखनीय उपस्थितिका बीच नेपालले अन्तिम बलसम्म इंग्ल्यान्डलाई कडा चुनौती दिएको थियो ।