मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर–१ मा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमलाई विजयी गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
-------------- बिज्ञापन ---------------
कार्यक्रमकै अवसरमा २०४६ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीति गर्दै आउनु भएका कान्छालाल वाइबाले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन्। यससँगै आजै बकैया गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियानसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विजय गौतमले मकवानपुरको पूर्वी क्षेत्रका नागरिकले भोग्दै आएको अव्यवस्थित बसोबास र लालपुर्जा समस्यालाई साझा दुःखको रूपमा प्रस्तुत गरे। उनले पालिकाका जनप्रतिनिधिहरूको पहलमा भूमिहीन दलित तथा निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकका लागि लालपुर्जा तयार गर्ने प्रक्रिया अघि बढिरहेको भए पनि समस्या अझै विकराल रहेको बताए।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू युवराज भट्टराई ‘समिर’, धनप्रसाद गौतम, प्रमिला पुलामी, भिम पाख्रिन, बागमती प्रदेश कमिटी सदस्यहरू लक्ष्मी माझी, जीवन गोले, लोकनाथ गौतम, बोदनाथ देवकोटा, सुनिल खड्का, भक्तबहादुर खत्री, परशुराम गौतम, बकैया गाउँपालिका अध्यक्ष विमल नेपाल, YCL मकवानपुर उपाध्यक्ष प्रेम लामा थिङलगायतका नेताहरूले मन्तव्य राखेका थिए।