हेटौंडा — नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले यो पटक चुनाव जितेर जिल्लाको विकासमा योजनाबद्ध काम गर्ने बताएकी छिन् । बिहीबर नेपाली काँग्रेस बागमाती गाउँपालिका वडा नम्बर ७ ले पाथिभरामा आयोजना गरेको कृयाशील सदस्यसँगको छलफल कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
-------------- बिज्ञापन ---------------
उनले बद्लिएको कांग्रेसले मुलुक बनाउने अभियानका साथ देशभरको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको बताइन् । पटक पटक चुनाव हार्दा पनि मकवानपुरको विकासमा निरन्तर लागिपरेको बताउँदै कांग्रेस निवर्तमान केन्द्रीय सहमहामन्त्री समेत रहेकी उनले यस पटक जितेर जनतासँगै रहेर अझ धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘म दिने ठाउँमा नपुग्दा पनि जिल्लाको विकास र समृद्धिका लागि निरन्तर लागिपरेँ । यो पटक जितेर जनतासँग ५ वर्ष सँगसँगै रहेर काम गर्नेछु’, उनले भनिन् ।
बागमती गाउँपालिका ७ का कांग्रेस सभापति फष्टबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर सहसचिव इन्दिरा न्यौपाने, महिला नेतृ रिता खनाल, जिल्ला सदस्य शेरबहादुर राना मगर, कांग्रेस बागमती प्रदेश समिति सदस्य भक्तबहादुर राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उक्त कार्यक्रम अघि डिनाले पाथिभरास्थित करिब २ महिनादेखि बिरामी परेर बसेकी ५० वर्षिया रिता राईसँग भेटेकी थिइन् ।
प्रेसरका कारण लड्दा टाउकोको पछाडिको भागमा रगत जमेर हिँड्न, उठ्नु नसक्ने अवस्थामा रहेकी राईसँगको भेटको क्रममा उनका श्रीमान ज्ञानबहादुर राईले आफू यसअघि अन्य पार्टीमा रहेको र उक्त पार्टीबाट आफ्नो श्रीमतीलाई उपचारको क्रममा कुनै सहयोग नगरेको भन्दै दुःख व्यक्त गरेका थिए । डिनाले रिताको उपचारको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् ।