मकवानपुर – रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन हेटौंडा–१ स्थित फलफूल तथा तरकारी बजार परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
रेडियोका सञ्चालक अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियोे । सो क्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले मानव जिवनको सबैभन्दा पहिलेको सुरुवात सरसफाईबाट नै सुरुवात हुने भन्दै आफ्नो वार्षिकोत्सवको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएकोप्रति रेडियो थाहाको टिमलाई धन्यवाद व्यक्त गरे ।
-------------- बिज्ञापन ---------------
वडाध्यक्ष न्यौपानेले तरकारी तथा फलफूल बजार उक्त स्थानमा सारिएको दिनको स्मारण गर्दै त्यसको व्यवस्थापन गर्नका लागि हरेक वर्ष नगरपालिकाले बजेट विनियोजित गरेको जानकारी गराए । फोहोरलाई मोहोर बनाउन लाग्नुपर्ने, सबैले घरबाटै फोहोर वर्गीकरण गर्दै फोहोर व्यवस्थापन गर्नुपर्ने र सरसफाई स्वास्थ्यसम्म जोडिएको विषय भएकाले फोहोर व्यवस्थापन गर्न जोड दिए ।
कार्यक्रममा नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद हुमागाई, टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुव अधिकारी, ग्रीन एण्ड क्लिन सिटी सर्भिसेज प्रालिका नवराज खतिवडा, शहरी स्वास्थ्य केन्द्र नकौलीको प्रतिनिधि प्रतिष्ठा कार्की, नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका सचिव नवराज पौडेललगायतको उपस्थिति रहेको थियाे ।