हेटौंडा – हेटौंडामा हात्तीगाडीको ठक्करबाट एक स्कुटर चालकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्। सोमबार दिउँसो हेटौंडा–१० भुटनदेवी मोडस्थित बाइपास सडकखण्डमा बसपार्कबाट पशुपतिनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ६०५३ नम्बरको हात्तीगाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।
-------------- बिज्ञापन ---------------
दुर्घटनामा स्कुटर चालक हेटौंडा–५ शान्तिनगर निवासी अन्दाजी १८ वर्षीय क्षितिज रायमाझी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौडा अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
यस्तै, स्कुटरमा सवार हेटौंडा–७ निवासी अन्दाजी १७ वर्षीय संगम झा घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको बताइएको छ।
मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी पुष्कर बोगटीका अनुसार ठक्कर दिएर फरार भएको हात्तीगाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।