पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
-------------- बिज्ञापन ---------------
चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको विक्रम संवत २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको आरोपमा बुबा/आमा प्रवासमा रहेका बेला कोइरालाको १९८१ सालमा भारतको टेडीमा जन्म भएको थियो । २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी द्वन्द्वलाई शान्तिपूर्ण रुपमा रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ ।
उहाँले माओवादीलाई शान्ति प्रकृयामा ल्याउन र देशमा शान्ति स्थापनाका लागि खेलेको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । त्यस्तै २०६१ साल माघ १९ मा दलमाथि प्रतिबन्ध लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्र शाह आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गर्नुभएको थियो ।