मकवानपुर जिल्लामा पहिलो पटक स्थानीय तहबाटै करदाता सेवा औपचारिक रूपमा सुरु गरिएको छ। मनहरी गाउँपालिकाले बुधबार एक कार्यक्रमका बीच व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने सहितका सेवा सञ्चालनमा ल्याएको हो।
-------------- बिज्ञापन ---------------
आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख युक्तप्रसाद सुवेदी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै सेवाको औपचारिक सुरुवात गरिएको हो। संघीय सरकारले गत कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने निर्णय गरेअनुसार मकवानपुरमा पहिलो पटक यस्तो सेवा सुरु भएको हो।
सेवा सुरुवातको अवसरमा पहिलोपटक व्यक्तिगत प्यान लिने निर्मला मल्ल र अनमोल गोले तथा व्यावसायिक प्यान लिने सिर्जना टेलर्सकी सञ्चालकलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, आन्तरिक राजस्व कार्यालयका प्रमुख सुवेदी र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र प्रदान गर्दै सेवाको शुभारम्भ गरेका हुन्।
अब मनहरी गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक प्यान नम्बर जारी हुने, दर्ता संशोधन तथा रुपान्तरण सम्बन्धी कार्य पनि स्थानीय स्तरमै सम्पन्न हुने जनाइएको छ। यसका साथै आयकर दर्ता, स्थायी लेखा नम्बर सम्बन्धी अन्य सेवा पनि गाउँपालिकाबाटै उपलब्ध हुनेछ।
कार्य सञ्चालन कार्यविधिअनुसार अन्तःशुल्क सम्बन्धी इजाजतपत्र जारी तथा नवीकरणका लागि आवश्यक कागजात स्थानीय तहबाटै रुजु गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पठाइनेछ। अन्तिम प्रमाणीकरण भने आन्तरिक राजस्व कार्यालयबाट डिजिटल हस्ताक्षरमार्फत हुने व्यवस्था गरिएको छ।
मनहरी गाउँपालिकामा सेवा सञ्चालनका लागि तीन जना कर्मचारीलाई आन्तरिक राजस्व कार्यालय हेटौँडाले तालिम प्रदान गरिसकेको छ भने आवश्यक उपकरणसमेत व्यवस्थापन गरिएको छ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्थानीय तहबाट सेवा सुरु भएसँगै करदातालाई समयको बचत हुने र सेवा प्रवाह थप छिटो तथा प्रभावकारी हुने विश्वास व्यक्त गरे।