हेटौँडा – विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फ मोटरसाइकल्सको आधिकारिक शोरुम ‘मोटो हब प्रालि’ हेटौँडामा सञ्चालनमा आएको छ । कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै वैशाख २७ गतेदेखि हेटौँडामा ट्रायम्फ मोटरसाइकलको बिक्री तथा सेवा औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो ।
-------------- बिज्ञापन ---------------
कम्पनीका प्रतिनिधि रवि कँडेल शर्माले ४०० सिसी क्षमताको ट्रायम्फ मोटरसाइकल धेरैले सोचेजस्तो अत्यधिक महँगो नभएको बताएका छन् । उनका अनुसार समान क्षमताका अन्य मोटरसाइकलसँग तुलना गर्दा ट्रायम्फले दिने राइडिङ अनुभव, आधुनिक प्रविधि, सुरक्षा सुविधा, माइलेज तथा दीर्घकालीन मर्मत खर्चका आधारमा यी मोटरसाइकल अझ किफायती र भरपर्दो विकल्प बन्न सक्छन् ।
उनले ट्रायम्फ मोटरसाइकल विश्वभर प्रिमियम डिजाइन, आरामदायी यात्रा तथा शक्तिशाली प्रदर्शनका कारण लोकप्रिय ब्रान्डका रूपमा स्थापित भइसकेको बताए । हेटौँडामा सञ्चालनमा आएको नयाँ शोरुममार्फत मोटरसाइकल बिक्रीसँगै सर्भिसिङ, स्पेयर पार्ट्स तथा ग्राहक सहायता सेवा पनि उपलब्ध गराइने जनाइएको छ ।
सन् १९०२ मा बेलायतबाट स्थापना भएको ट्रायम्फ मोटरसाइकल विश्वकै पुराना तथा प्रतिष्ठित मोटरसाइकल ब्रान्डमध्ये एक मानिन्छ । पछिल्लो समय नेपालमा मध्यम तथा प्रिमियम सेग्मेन्टका मोटरसाइकलप्रति युवापुस्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । विशेषगरी ट्रायम्फका ‘स्पिड ४००’ र ‘स्क्र्याम्बलर ४०० एक्स’ मोडल नेपाली बजारमा चर्चित बन्दै गएका छन् ।
कम्पनीका अनुसार हेटौँडा तथा आसपासका ग्राहकलाई अब मोटरसाइकल खरिद वा सर्भिसिङका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।