हेटौंडा— सरकारले सुन, हिरा तथा बहुमूल्य पत्थरहरूलाई विलासिता वस्तुको सूचीमा राख्दै अतिरिक्त कर लगाएको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। आन्दोलनको क्रमलाई तीव्र बनाउँदै मकवानपुरका व्यवसायीहरूले पनि दुई दिनका लागि पसल बन्द गरेका छन्।
-------------- बिज्ञापन ---------------
मकवानपुर सुन चाँदी व्यवसायी सङ्घले एक विज्ञप्ति जारी गर्दै आज २९ र भोलि ३० गते जिल्ला भित्रका सम्पूर्ण सुन चाँदी पसलहरू बन्द राख्न सबै व्यवसायीहरूलाई अनुरोध गरेको छ। सङ्घका अनुसार सरकारको हालको कर संरचनाले व्यवसायीमात्र होइन, उपभोक्तालाई समेत प्रत्यक्ष असर परेको छ।
सरकारले सुनमा २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि देशैभर विरोध चर्किएको हो। व्यवसायीहरूले यस्ता करहरू तत्काल खारेज गर्न माग गरेका छन्। साथै, सुनको भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने र सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति तथा नियमावली निर्माण गरिनुपर्ने माग पनि अघि सारिएको छ।
मकवानपुरका व्यवसायीहरूले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायका छन्।
