हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालामा शुक्रबारदेखि राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । उद्घाटन खेलमा चितवनले घरेलु टिम मकवानपुरलाई टाइब्रेकरमा ५–४ ले हराउँदै दोस्रो चरणमा स्थान सुरक्षित ग¥यो।
-------------- बिज्ञापन ---------------
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा चितवनकी अनिता गुरुङले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्।
मकवानपुरकी खुसाना राईलाई रातो कार्ड देखाइएपछि मकवानपुर १० खेलाडीमा सीमित भयो। यद्यपि खेलको अन्तिम मिनेटमा मकवानपुरकी सजिना स्याङ्तानले गोल गर्दै १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।
खेलको म्यान अफ द म्याच चितवनकी अनिता गुरुङ घोषित भइन्। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्।
यस वर्ष पहिलोपटक महिला संस्करणको आयोजना गरिएको प्रतियोगितामा विभागीय टोली नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबसहित ८ टोलीको सहभागिता रहेको छ। अन्य सहभागीमा संकटा क्लब (ए डिभिजन), रौतहट, चितवन, सर्लाही, बारा, र आयोजक मकवानपुर रहेका छन्।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
महिला गोल्डकपको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गर्नुभएको हो।